समाचार सुन्नुहोस :
काठमाडौँ – मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात दलीय गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेको छ। ६४ जना प्रदेश सांसदको हस्ताक्षरसहित उनीहरू बुधबार प्रदेश सभा सचिवालय पुगेका थिए। प्रस्ताव दर्ता गर्ने क्रममा एमाले कार्यकर्ताले अवरोध गर्न खोजे पनि गठबन्धनका सांसदहरूले अवरोध पार गर्दै प्रस्ताव दर्ता गराए।
यसअघि सभामुख मण्डलले उपसभामुखले तोक लगाइसकेको प्रस्ताव दर्ता हुन रोकेका थिए, तर सचिवालयका कर्मचारीले अन्ततः दर्ता गरेका हुन्। त्यसक्रममा सभामुख पक्ष र गठबन्धनका सांसदबीच झडप भएको थियो।
झडपमा जनमत पार्टीका नेता महेशप्रसाद यादव, लोसपाका सांसद उपेन्द्र महतो र जसपा नेपालका सांसद राजकुमार गुप्ता घाइते भएका छन्। सांसद महतोले प्रस्ताव दर्ता गरेर निस्किने क्रममा सभामुख मण्डल र उनका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन्। गत शनिबार मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिँदा सभामुख मण्डलले तटस्थ भूमिका नखेलेको भन्दै सात दलले उनको राजीनामा माग्दै आएका थिए। मण्डल एमालेबाट सभामुख बनेका हुन्।
गठबन्धनका अनुसार सभामुख मण्डलले एमालेको पक्षमा सदन सञ्चालन गरेको र त्यसकै कारण तत्कालीन मुख्यमन्त्री सोनल राजीनामा दिन बाध्य भएका हुन्। संविधान अनुसार सभामुखविरुद्धको अविश्वास प्रस्ताव पारित गर्न प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक हुन्छ।








