समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गर्दै सरकारी सटडाउन समाप्त गरेका छन्। उनले सस्तो जीवनयापन सुनिश्चित गर्ने आफ्नो पुनर्निर्वाचन अभियानको प्रमुख एजेन्डा पुनः दोहोर्याउँदै सरकार अब सामान्य ढंगले सञ्चालनमा फर्किने बताएका छन्।
यो सटडाउन ट्रम्पको पहिलो कार्यकालको सटडाउनभन्दा लामो थियो। उनले डेमोक्रेट नेताहरूलाई ‘अमेरिकी इतिहासकै सबैभन्दा लामो सटडाउन’ गराएको आरोप लगाए। ट्रम्पले भने, “अब संघीय सरकार पुनः सञ्चालनमा फर्किनेछ। हाम्रो प्रशासनले जीवनयापनको लागत घटाउने, सार्वजनिक सुरक्षा बलियो बनाउने, अर्थतन्त्र विकास गर्ने र अमेरिकालाई सबैका लागि सस्तो बनाउने काम जारी राख्नेछ।”
एपीका अनुसार, प्रतिनिधिसभाबाट पारित विधेयकमा सटडाउनका कारण बर्खास्त भएका संघीय कर्मचारीहरूलाई पुनः नियुक्त गर्ने र तिनीहरूले आफ्नो तलब पाउने प्रावधान समावेश गरिएको छ। यसले जनवरीसम्म थप बर्खास्तीबाट कर्मचारीहरूलाई जोगाउनेछ। यस प्याकेजमा सांसद र सर्वोच्च अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि क्रमशः २० करोड ३५ लाख डलर र २ करोड ८० लाख डलर छुट्याइएको छ। विधेयकमा अफोर्डेबल केयर एक्ट (एसीए) अन्तर्गत स्वास्थ्य बीमा सस्तो बनाउने कर छुटको म्याद थप्ने विषय पनि प्रमुख रूपमा उठेको छ। जुन नबढाए लाखौँ अमेरिकीको बीमा शुल्क दोब्बर हुन सक्ने अनुमान गरिएको छ।








