टोकियो – जापानको राष्ट्रिय सार्वजनिक प्रसारण संस्था (एनएचके)को एक तथ्याङ्कले जापानमा भालुको आक्रमणबाट मृत्यु हुने र घाइते हुनेको संख्या बढेको देखाएको छ । यस आर्थिक वर्षको अप्रिलबाट सुरु भएको अवधिमा मंगलबारसम्म कम्तीमा २२० जना मानिस भालुको आक्रमणबाट प्रभावित भएका छन् । जापानका ४७ वटा प्रिफेक्चरमध्ये २१ वटाको तथ्याङ्कले यो संख्या सन् २०२३ को २१९ को अघिल्लो रेकर्डलाई पनि उछिनेको छ ।
वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार यस आर्थिक वर्षमा भालुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो । प्रिफेक्चरअनुसार इवातेमा पाँच, आकितामा चार, होक्काइडोमा दुई तथा नागानो र मियागीमा एक-एक जनाको मृत्यु भएको छ ।
भालुको मुख्य आहारा अकोर्न र बिचनट हुन् । जुन वर्ष यी स्रोतहरू भालुको प्राकृतिक वासस्थानमा कम हुन्छन्, त्यस वर्ष भालुहरू खानाको खोजीमा बस्ती नजिक आउने गर्छन्, विशेष गरी शरद ऋतुमा। यसले गर्दा मानिसमाथि भालुको आक्रमणको सम्भावना बढ्छ ।
तोहोकु क्षेत्रको वन व्यवस्थापन प्राधिकरणका अनुसार यस आर्थिक वर्षमा पनि बिचनटको उत्पादन सन् २०२३ मा जस्तै अत्यन्त कम छ, जसले गर्दा यसपालि पनि ठूलो संख्यामा मानिसहरू भालुको आक्रमणबाट प्रभावित भएका छन् ।








