समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकामा सटडाउनका कारण उत्पन्न आर्थिक र प्रशासनिक संकटले विमानस्थलमा उडान कटौती भएको आज तेस्रो दिन पुगेको छ। शनिबार मात्र १,४०० भन्दा धेरै उडान स्थगित भएका छन् भने ६,००० भन्दा बढी विमान निर्धारित समयभन्दा ढिलो उडेका छन्। यसअघि शुक्रबार ७,००० भन्दा बढी उडान ढिलो भएका थिए, फ्लाइट ट्रयाकर कम्पनी फ्लाइटओभर का अनुसार।
संघीय उड्डयन प्रशासन (एफएए) ले यो साताको सुरुमा व्यस्त ४० विमानस्थलमा १० प्रतिशतसम्म उडान घटाउने योजना सार्वजनिक गरेको थियो। सटडाउनका कारण लामो समयदेखि तलब नपाई काम गरिरहेका हवाई ट्राफिक कन्ट्रोलरमाथिको दबाब कम गर्न यस्तो निर्णय गरिएको एफएएले जनाएको छ।
सत्ता र विपक्षबीचको राजनीतिक गतिरोध अन्त्य नहुँदा सटडाउन आइतबार ४० औं दिनमा पुगेको छ। सिनेट सदस्यहरू संसद खुलाउने सहमति खोज्दै वासिङ्टनमा वार्तामा जुटेका छन्। सदन बन्द भएपछि आपतकालीन सेवा बाहेक अधिकांश सरकारी सेवा ठप्प छन्। झण्डै १४ लाख संघीय कर्मचारीले तलब पाएका छैनन्। तलब ढिलाइ भएपछि विमानस्थलका केही कर्मचारी बिदामा बसेका छन्, जसले बाँकी कर्मचारीमाथि कामको बोझ बढाएको छ।
यसै दबाब घटाउन एफएएले बिहीबारदेखि उडान कटौती सुरु गरेको हो। शुक्रबार ४ प्रतिशत उडान घटाइएका छन् भने नोभेम्बर ११ मा ६%, १३ मा ८% र १४ मा १०% उडान कटौती गर्ने योजना छ।








