टोकियो – जापानका सार्वजनिक सुरक्षा प्रमुखले गत महिना एक पुरुष पत्रकारलाई ‘तपाईं भालुजस्तो देखिनुहुन्छ’ भनेको भन्दै एउटा साप्ताहिक पत्रिकाले समाचार प्रकाशित गरेपछि माफी मागेका छन् । हालैका दिनहरूमा जापानमा वन्यजन्तुको आक्रमण बढ्दो चिन्ताको विषय बनेको बेला यो टिप्पणी आएको हो ।
गत महिना राष्ट्रिय सार्वजनिक सुरक्षा आयोगको प्रमुख नियुक्त भएका जीरो अकामाले संसदीय सत्रमा बोल्दै भने, ‘कुनै व्यक्तिको शारीरिक बनोट वा हाउभाउका आधारमा वर्णन गर्नु अनुपयुक्त थियो । म माफी चाहन्छु र उक्त टिप्पणी फिर्ता लिन्छु ।’
प्रमुख प्रतिपक्षी दल संवैधानिक लोकतान्त्रिक पार्टी जापानकी तल्लो सदनकी सांसद माकी इकेडाले अकामाको टिप्पणीको आलोचना गर्दै भालुको आक्रमण नियन्त्रणसम्बन्धी उपायहरूको जिम्मा लिएका मन्त्रीका लागि यो अशोभनीय भएको बताइन् । यसबारे आफ्नो धारणा सोध्दा प्रधानमन्त्री सानाई ताकाइचीले जवाफ दिइन्, ‘हामी अझ सावधान हुनुपर्छ ।’
जापानभरि भालुको आक्रमण, जसमध्ये कतिपय घातक समेत थिए, बढेपछि केन्द्रीय तथा स्थानीय सरकारहरू भालुको बढ्दो समस्या समाधान गर्न लागिपरेका छन् । यस हप्ता मात्रै, केन्द्रीय सरकारले प्रहरी अधिकारीहरूलाई भालु मार्न राइफल प्रयोग गर्न अनुमति दिने नियमहरू संशोधन गरेको छ, जबकि सेल्फ-डिफेन्स फोर्सका कर्मचारीहरूलाई जापानको उत्तरपूर्वी अकिता प्रिफेक्चरमा भालु नियन्त्रण कार्यमा सहयोग गर्न खटाइएको थियो ।
साप्ताहिक पत्रिका ‘शुकान बुनशुन’का अनुसार, नियमित पत्रकार सम्मेलनपछि अनौपचारिक रूपमा ‘भालु’ सम्बन्धी टिप्पणी गर्नुअघि पत्रकारले अकामालाई भालुको आक्रमण बढेका उत्तरपूर्वी जापानका क्षेत्रहरूको भ्रमण गर्नेछन् कि भनेर सोधेका थिए । अकामाले जवाफमा ‘खतरनाक छ, त्यसैले म जाँदिनँ’ भनेको पत्रिकाले उल्लेख गरेको छ ।








