समाचार सुन्नुहोस :
काठमाडौँ – बागलुङको ढोरपाटनमा शुक्रबार राति भएको पिकअप जिप दुर्घटनामा एकजनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप राति करिब १० बजे ढोरपाटन नगरपालिका–८ र ९ को सिमाना च्वावीरमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा ढोरपाटन–७ का २३ वर्षीय राजेन्द्र अदैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार दुर्घटनामा ढोरपाटन–९ का २७ वर्षीय चालक दिलबहादुर विक र वडा नं ७ का २४ वर्षीय वसन्त अदै घाइते भएका छन्। घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको र अदै घर फर्किसकेका छन्।
प्रहरीका अनुसार पिकअप सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको थियो। निरीक्षक मानन्धरले भने, “राति दुर्घटना भएको खबर पाएपछि तुरुन्तै उद्धारका लागि टोली पठायौँ। दुई जनालाई जोगाउन सफल भयौँ, तर एकजनाको घटनास्थलमै मृत्यु भयो।”








