काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजूरी परेको एक साता भइसक्यो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भइरहेको छ ।
जघन्य अपराधको उजुरी पर्दा सन्दीप नेपालमा थिएनन् । उनी क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न का लागि जमैकामा रहेका बेला बलात्कारको उजुरी परेको हो ।
सन्दीप आइतबारदेखि सम्पर्कविहीन छन् । नाबालिग बलात्कार आरोपमा प्रहरीको फरार सूचीमा रहेका क्रिकेटर सन्दीपले आइतबार नै आफू नेपाल आउन लागेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई जानकारी गराएका थिए । तर, उनी मंगलबारसम्म नेपाल आइपुगेका छैनन् ।
आइतबारदेखि सन्दीपको क्यानसँग पनि सम्पर्क छैन् । उनी कतारसम्म पुगेको सम्म जानकारी आएको क्यान निकट स्रोतले जनाएको छ । अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखिसकेको छ ।








