Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ – आइसिसी यू–१९ टी-२० महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सुखद अन्त्य गरेको छ । आफ्नो पाँचौं खेलमा घरेलु टोली मलेसियालाई २५ रनले हराउँदै नेपालले सुखद अन्त्य गरेको हो । प्रतियोगितामा नेपालको पाँचमध्ये तीनमा जित र दुई खेलमा हारको सामना गर्‍यो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रन, तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको थियो । यूएई र थाइल्याण्डविरुद्ध भने नेपाल पराजित हुन पुग्यो ।

यूएई र थाइल्याण्डसँगको हारसँगै विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको थियो । मलेसिया पनि विश्वकप खेल्न चुक्यो । नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभर नै ब्याटिङ गरे पनि चार विकेट गुमाउँदै ६१ रन मात्र बनाउन सक्यो ।

उसका लागि इल्सा हन्टरले सर्वाधिक २८ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो  अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कप्तान कृतिका मरासनीले दुई तथा मनिषाकुमारी उपाध्यायले एक विकेट हात पारे ।

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनायो । नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाइन् ।  यस्तै आश्मा पुलामी मगरले २६ रन जोडिन् ।

सृष्‍टि जैशी, सानु राजवंशी र अनु कडायतले समान तीन/तीन रन तथा  कृतिका मरासनीले एक रन जोडे । मलेसियाकी नुर सामेदले दुई तथा इल्सा हन्टरले एक विकेट लिए ।

तपाईको प्रतिक्रिया