Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडाैं – बोक्सी आरोपमा राजधानीमै एक महिलामाथि निर्घात रूपमा कुटपिट भएको घटना सार्वजनिक भएको छ । आफूलाई बोक्सीको आरोपमा यातना दिएको भन्दै दोलखा स्थायी घर भई भीमसेनस्थान बस्ने रश्मी उपरकोटीले प्रहरीमा उजुरी गरेपछि राजधानीमै बोक्सी आरोपमा महिलामाथि कुटपिट भएको घटना बाहिरिएको हो ।

गत बुधबार राजधानीको भीमसेनस्थानबाट प्रहरीले यातना दिने एक महिलालाई पक्राउ गरेर मुद्दासमेत चलाइसकेको छ । पक्राउ पर्नेमा मोरङ घर भई भीमसेनस्थान बस्दै आएकी कविता श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ । उनले आफूलाई माता बताउँदै झारफुक गर्दै आएकी थिइन् । कवितालाई बुधबार भीमसेनस्थानबाट पक्राउ गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख वसन्त लामाले बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएको पीडित महिलाको उजुरीका आधारमा प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरेको र जिल्ला अदालत काठमाडौंमार्फत मुद्दा चलाएको जनाए ।

‘पीडित महिलाको उजुरीपछि प्रहरीले आरोप लगाउने तथा कुटपिट गर्ने महिलालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर मुद्दा चलाइसकेको छ । थप अनुसन्धान जारी छ,’ परिसरका प्रमुख एसएसपी लामाले भने । पीडित महिलाले आफूलाई बोक्सी होस् भनेर कुटपिट गरेको र यातना दिएको भन्ने उजुरी दिएपछि कवितालाई बोक्सी मुद्दामा अनुसन्धान गरिरहेको परिसर काठमाडौंले जनाएको छ । पीडित महिला उपरकोटी दोलखाको तामाकोसी गाउँपालिका-४ की हुन् । उनी न्युरोड भीमसेनस्थानमा डेरामा बस्दै आएकी थिइन् ।

आइतबार बेलुका करिब नौ बजे आफ्नो तीनमहिने बच्चालाई सन्चो नभएपछि उनी घरबेटीको सहारामा माताको आश्रममा पुगेकी थिइन् । तर, आफूलाई माता बताउने कवितासहितको समूहले उल्टै रश्मीलाई नै बोक्सी भन्दै राति १ बजेसम्म कुटपिट गरेका थिए । त्यसक्रममा पीडित रश्मीले आफूलाई पन्युँ तताएर पिटेकोसमेत बताइन् । प्रहरीका अनुसार तताएको पन्युँले डामेर घाइते भएकी रश्मीलाई उपचारका लागि वीर अस्पताल पठाइएको थियो ।

बोक्सी आरोपसम्बन्धी कसुर तथा सजायको कानुनी व्यवस्था सम्बन्धमा गरिएको व्यवस्थाअनुसार पीडकलाई कसुर हेरी ६ महिनादेखि पाँच वर्षसम्म जेल सजाय र ५ हजार देखि २० हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ ।

‘पन्युँ तताएर पिटे’- रश्मी उपरकोटी, पीडित महिला

मेरो बच्चा तीन महिनाको छ । १२ गते राति एक्कासि बच्चा रोएको रोएकै गर्न थाल्यो । मैले केही गरेर पनि चुप लगाउन नसकेपछि घरबेटीसहित सबैले माताकोमा लगौं भनेर भन्न थाले । म इसाई धर्म मान्ने र मेरो श्रीमान् पनि इसाई धर्म नै मान्ने भएका कारण मैले पहिले त जान मानिनँ । तर, सबैले कर लगाएपछि म गएँ । म त्यहाँ पुग्दा आफैं बच्चाको रुवाइ सहन नसकेर काम्न थालेछु ।

त्यसपछि माताले मलाई नै उल्टै ‘तँ बोक्सी होस्’ भनेर कुटपिट गर्न थालिन् । मातासहित थुप्रै मान्छे मिलेर कुटे । छोरा खाने भइस् भनेर पिटे । पन्युँ तताएर हाने । शरीरको पछिल्लो भागमा समेत लात्तैलात्ताले कुटे । ९ बजेदेखि १ बजे रातिसम्म कुटे । मेरो देवरले भाउजूलाई गाह्रो भयो भनेर रोक्न खोजे तर उल्टै पिसाब खुवाउनुपर्छ, दिसाखुवाउनु पर्छ अनि म बोक्सी हुँ भन्छे भन्दै कुटे । म त्यसअघि त्यो माताकहाँ कहिल्यै गएको पनि थिइनँ । मेरो श्रीमान् गाउँमा नै हुनुहुन्थ्यो ।

म पनि उतै जाने तयारीमा थिएँ । तर, एक्कासि यस्तो घटना भयो । अनि म प्रहरीकहाँ गएँ । बिहीबार र शुक्रबार पनि म प्रहरीकहाँ गएकी छु । मलाई यस्तो गर्नेलाई के कारबाही हुन्छ ? विश्वास गरेकै चिनजानको मान्छेबाटै यो अवस्था भोग्नुपर्यो ।

तपाईको प्रतिक्रिया