काठमाडौं – प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले तपस्वीको भेष धारण गरेका रामबहादुर बमजनले आफ्ना आश्रममा बस्ने आनी र चेलीहरुमाथि चलाएको यौनजन्य हिंसा, बलात्कार र हत्याको घटनाबारे सरकारको धारणा माग्दै प्रतिनिधिसभामा प्रश्न दर्ता गराउनुभएको छ ।
उहाँले सोमबार इमेलमार्फत प्रश्न दर्ता गरी गृहमन्त्री रामबहादुर थापालाई प्रतिनिधिसभामार्फत यसबारे उत्तर दिन लिखित माग गर्नुभएको हो। प्रतिनिधिसभाको नियमावलीमा सांसदले दर्ता गरेका प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले १० दिनभित्र दिनुपर्ने व्यवस्था छ ।
उहाँले भन्नुभएकाे छ, ‘प्रहरी अनुसन्धान र छानबिनको प्रक्रिया कहाँ पुगेको छ ? सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो बमजन आश्रममा गम्भीर आपराधिक क्रियाकलाप रोक्न, पीडितलाई सुरक्षा र न्याय प्रदान गर्न सरकारले के कस्तो प्रयास गरेको छ ? यस सदनमार्फत यी प्रश्नको उत्तरको अपेक्षा गरेको छु ।’








