काठमाडौं – सुविधा सम्पन्न देश जापानमा जन्मेर पनि विकट गाउँ र गरिब जनताको सेवामा करिब दुई दशकभन्दा बढी समय विताएका एक जापानी समाजसेवीको नागरिक अभिनन्दन गरिएको छ। जापानी नागरिक काजुमासा काकिमी अर्थात् पाल्पालीले दिएको नाम (ओके बाजे) लाई उनको योगदान र समाजसेवाको उत्कृष्ट कार्यको परिणाम स्वरूप पाल्पाको रामपुरमा नागरिक अभिनन्दन गरिएको हो। उनलाई रामपुरमा स्वतःस्फूर्त ३ सयभन्दा बढी संघसंस्थाहरूले लाइनबद्ध भएर एकसाथ अभिनन्दन गरेका छन्।
उनलाई पाल्पाका करिब सय विद्यालयका प्राचार्य प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्लब, आमा समूहका अध्यक्ष र सर्वसाधारणहरूले घण्टौंसम्म लाइनमा उभिएर सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन्। ओकेबाजेले पाल्पाको शैक्षिक, स्वास्थ्य, कृषि र स्वरोजगार, गरिब तथा विपन्न समुदायका बालबालिकाहरूको पढाइ र स्वास्थ्य सुधारमा उनले आर्थिक सहयोग गरेका छन्।
सन् १९३९ मा जापानको टोकियोमा जन्मेका उनी सन् १९९३ बाट पाल्पाको जल्पा गाविसस्थित ढोलीमारा गाउँमा आएर बसेका हुन्। बोल्दा धेरैजसो अंग्रेजी शब्द ओकेओके भनेर बोल्ने हुँदा उनलाई पाल्पालीहरूले नाम ओकेबाजे बाजे भन्छन्। उनले यहाँका विपन्न जनताको सेवामा निकै वर्ष र खर्चसमेत गरेका छन्। पूर्वी पाल्पामा उनलाई स्थानीयले निकै सम्मान गर्ने गरेका छन्।
उनले यहाँको विकासका लागि जापानमा रहेका सामाजिक सघसंस्थासँग अनुरोध गरी रकम संकलन गर्दछन्। संकलित रकम र उपहार सरकारी निकायमा माग्न नसक्ने र विकट बस्तीमा गर्ने गरेका छन्। उनको अभिनन्दन कार्यक्रममा जापानको टोकियो शहर र अन्य केही शहरका २ सय बढी जापानीहरू रामपुर आइपुगेका थिए।
अभिनन्दन समारोहमा सभासद् राधाकृष्ण कँडेलले जापान जस्तो विकसित देशमा जन्मेर नेपाल जस्तो विकासोन्मुख मुलुकमा निःस्वार्थ सेवाभावले समाजसेवा गरेकोमा सराहना गरे।
प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले उनले पाल्पालीलाई तिरी नसक्नुको गुन लगाएको बताए। कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, वरिष्ठ पत्रकार मेघराज शर्मा, नीलकण्ठ न्यौपाने, देवीलाल लामिछानेलगायतले उनको समाजसेवाको कदर गरेका थिए। कार्यक्रम अभिनन्दन समारोह मूल समितिका अध्यक्ष नारायणप्रसाद आचार्यको सभापतित्वमा भएको थियो।***








